धरानमा यही माघ २८ गतेबाट प्रथम ‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक कोशी प्रदेश फुटबल संंघले धरानमा पत्रकार सम्मेलनमार्फत माघ २८ देखि फागुन ६ गतेसम्म कोशी प्रभिन्स प्रिमियर लिग गर्न लागेको जानकारी दिएको हो ।
धरान रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल २५ लाख २५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।
लिग च्याम्पियनले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १ लाख २५ हजार प्रप्त गर्नेछन् । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ एन्फाले १५ लाख रुपैयाँ दिएको र कोशी प्रदेश सरकारसँग २० लाख रुपैयाँ माग गरिएको राईले बताए । अन्य रकम विभिन्न निकायबाट सहयोग हुने आयोजकले जनाएको छ ।
९ दिनसम्म चल्ने लिगमा सुनसरीको धरान फुटबल क्लब, मोरङको सम्राट स्पोर्टिङ क्लब, झापाको धाइजन चारआली फुटबल क्लब, धनकुटाको देउराली फुटबल क्लब, संखुवासभाको लोरुहाङ फुटबल क्लब, इलामको रेडहर्स फुटबल क्लब, पाँचथरको पाँचथर फुटबल क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, खोटाङको बुइपा स्पोर्टिङ क्लब, ताप्लेजुङको प्रगतिशील फुटबल क्लब र भोजपुरको लाइब्रेरी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यी ११ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
