भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो ।

उपाधिका लागि झापा ११ ले माघ ८ गते नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा झापा ११ का अभिषेक लिम्बु र १२ औं मिनेटमा बिजु भुजेलले गरेको गोलपछि टोलीले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

सुदेवा दिल्लीका लागि खेलको ७५ औं मिनेटमा सान्त्वना गोल फर्किएको थियो। खेलको प्लेयर अफ द म्याच झापा ११ का बिजु भुजेल भए । उनले १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।

यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो । झापा ११ ले क्वार्टर फाइनलमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई हराएर सेमिफाइनलमा सुदेवा दिल्ली एफसीसँग भेट गरेको थियो ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले नगद १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।

Jhapa Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *