भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् ।

जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् ।

भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै भारतीय खेलाडीले फिटनेसमा समस्या भएको अवस्था बाहेक घरेलु क्रिकेटमा भाग पर्ने जनाएको छ ।

च्याम्पियन्स ट्रफीको टोली घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा रोहितले अर्को रणजी खेल खेल्ने कि नखेल्ने भन्ने प्रश्नमा भने, ‘म खेल्नेछु।’ रोहितको घरेलु टोली मुम्बईले घरेलु मैदान बिकेसी मैदानमा जम्मू-कश्मीरसँग खेल्नेछ ।

रोहितले अस्ट्रेलियामा ५ मध्ये २ टेस्ट गुमाएका थिए । अन्तिम खेलमा उनले खराब फर्मको कारण बाहिर बसेका थिए । उनले भ्रमणको पाँच इनिङमा केवल १ मात्र दोहोरो अंकको रन बनाएका थिए ।

त्यसअघि रोहितले घरेलु मैदानमा ५ टेस्ट खेलेका थिए । जसमा उनले न्युजिल्यान्डविरुद्ध बेंग्लोरमा भएको खेलमा १ अर्धशतक बनाउन सफल भएका थिए ।

रोहितले हालै वानखेडे स्टेडियममा मुम्बईको रणजी टोलीसँग अभ्यास गरेका थिए । उनले पछिल्लो पटक सन् २०१५-१६ मा रणजी ट्रफी खेलेका थिए। त्यो सिजनको १ खेल खेलेका रोहितले उत्तर प्रदेशविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय १३ रन बनाएका थिए ।

कोहली, राहुल रणजीको लागि उपलब्ध नहुने

भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहली र केएल राहुलले फिटनेस समस्याका कारण रणजी ट्रफी नखेल्ने भएका छन् । बिसिसिआईका मेडिकल स्टाफको सल्लाहमा दुवैले जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेल नखेल्ने भएका हुन् ।

सिड्नीमा बोर्डर-गावस्कर ट्रफी सकिएको तीन दिनपछि जनवरी ८ मा कोहलीलाई घाँटी दुखेको र इन्जेक्सन दिइएको थियो ।

बिसिसिआईका मेडिकल स्टाफका अनुसार उनी अझै पनि दुखाइको अनुभव गरिरहेका छन् । दुखाईका कारण कोहलीले राजकोटमा सौराष्ट्रविरुद्ध दिल्लीको खेलबाट बाहिरिएका छन् ।

रणजी ट्रफीको अर्को राउन्डमा ऋषभ पन्त दिल्लीबाट, शुभमन गिल पञ्जाबबाट र रविन्द्र जडेजा सौराष्ट्रबाट खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *