बिभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ को दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको आर्मीले मधेशले दिएको २६ रनको सामान्य लक्ष्य २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

आर्मीको जितमा ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २२ रन बनाइन् । अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १५.२ ओभरमा अल आउट हुँदै २५ रन मात्र जोड्न सक्यो । मधेशका भूमि सिंहबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । २१ बल खेलेका उनले दुई चौकासहित १० रन बनाइन् ।

बलिङतर्फ आर्मीका आश्मा पुलामी मगरले ह्याट्रिक सहित ३, मनिषा चौधरी र लक्ष्मिी साउदले समान २ तथा सिता शाही र इश्वरी बिष्टले समान १ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई अंक जोडेको छ । समूह ‘बी’ मा आर्मी र मधेसँगै कोशी र बागमती प्रदेश रहेका छन् ।

आइतबार सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्यो । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *