भारतमा जारी प्रथम खो-खो बिश्वकपको उपाधिका लागि नेपालका पुरूष र महिला दुवै टोलीले आज आयोजक भारतसँग भिड्दै छन् ।
महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे र पुरुषतर्फको फाइनल खेल राति ८ बजे सुरु हुनेछ । दुबै खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।
महिलातर्फ नेपाल र भारत दुबै अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने समूहचरणमा भारतसँगै एक खेल हारेको थियो ।
महिलातर्फ नेपाल समूह ‘सी’ मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको हो ।
