खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो ।

एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियलले उत्कृष्ट पुनरामगन गर्दै फाइनल प्रवेश गरेको हो ।

६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए । ह्यारी केनको पास बायाँ फ्लान्कमा लिएर दायाँ खुट्टामा लगि उनले शक्तिशाली प्रहारका साथ बायर्नलाई समग्रमा एक गोलले अघि लगेका थिए ।

सुरुवाती रोजाइमा नरहेका डेविस २७औं मिनेटमा सर्ज गन्याब्रीलाई चोट लागेपछि उनको ठाँउमा मैदान प्रवेश गरेका थिए । ७१औं मिनेटमा रियलका कप्तान नाचोले गोल गर्न सफल रहेका थिए। तर उनले जोशुवा किमिचमाथि गरेको फाउलका कारण गोल रद्द भएको थियो।

तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्यो। बायर्नका गोलरक्षक म्यानुएल नुएरले भिनिसियस जुनियरको प्रहार नियन्त्रणमा लिन नसकेपछि जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई जित दिलाए । एन्टनियो रुडीगरको क्रसमा उनले गोल गरेपनि सुरुवातमा रेफ्रीले अफसाइडको निर्णय गरेका थिए । तर भिएआरको सहायताले निर्णय बदलिएपछि रियलले खेलमा अग्रता लियो ।

बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो ।

रियलले अब फाइनलमा उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले अर्को सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २-० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *