न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा एनआरटीका मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गरे । एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार बाहिरिएको थियो भने विशाल थिङको प्रहार पुलिसका गोलरक्षक अमित टमटाले बचाए । पुलिसका सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल हरे । पुलिसका कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले रोके ।
यसअघि खेलको २७औं मिनेटमा सुजन मगरले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछि एनआरटीले खेलमा फर्किदै ५३औं मिनेटमा बराबरी गोल फर्कायो । एनआरटीका आशिष गुरुङले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी एरियामा फल गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी प्रदान गरेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका सुजन मगर म्यान अफ द म्याच घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
पुलिसले उपाधिका लागि झापा ११ को सामना गर्नेछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनलमा पुगिसकेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा जारी प्रतियोगिताको फाइनल खेल असोज २४ गते शनिबार हुनेछ ।
पथरी-११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।
