काठमाडौं । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत ‘प्ले रग्बी नेपाल’ को आयोजनामा नेपालको रग्बी र खेल पर्यटन विकासको संयुक्त अभियान कार्यक्रम हुने भएको छ ।
‘एभरेस्ट रग्बी लेगेसी’ नाम दिइएको सो अभियानलाई तीन चरणमा हुनेछ। जसमा पहिलो चरणमा सात प्रदेश, सात अभियान’ को रुपमा सातवटै प्रदेशमा रग्बीको गतिविधि सञ्चालन गर्ने, दोस्रो चरणमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरी विश्व कीर्तिमान कायम गर्ने र तेस्रो चरणमा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी वान रग्बी आयोजना गर्ने रहेको छ ।
शुक्रवार हिमालयन स्पोर्ट्स म्यानजमेन्टका अध्यक्ष विनोद तामाङले रग्बीको नेपालले अहिले सम्म आयोजना गर्न लागेको बृहत अभियानको घोषणा गरे । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री सरल सहयात्रीले उक्त अभियानको उद्घाटन गरेका थिए ।
नेपाल रग्बी संघको सहकार्यमा हुने सो अभियान नोभेम्बर २०२६ देखि अप्रिल २०२८ सम्म २ वर्ष सञ्चालन हुनेछ । जसमा रग्बी विकासलाई युवा सशक्तीकरण, महिलाको सहभागिता, पर्यटन प्रवर्द्धन, सांस्कृतिक उत्सव, जलवायु कार्य, वातावरणीय सचेतना तथा जिम्मेवार साहसिक पर्यटन जस्ता विषयहरु जोडिने शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष तामाङले बताए ।
घोषणा कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका अधिकारीहरुले उक्त अभियानलाई साथ दिने वाचा गरेका छन् । तीन चरणको कार्यक्रम कस्तो कार्यक्रम अन्तर्गत पहिलो चरणमा ‘सात प्रदेश-सात अभियान’ नारामा देशव्यापी रुपमा ‘एभरेस्ट रग्बी लेगेसी’ रग्बी यात्राको कार्यक्रम हुनेछ । जसमा प्रत्येक प्रदेशमा दुई दिने रग्बी तथा सामुदायिक महोत्सव आयोजना गरिनेछ। त्यसमा प्रत्येक प्रदेशमा रग्बीको छुट्टाछुट्टै कार्यक्रम हुनेछ । मधेशमा लैङ्गिक समानता तथा महिला रग्बी, लुम्बिनीमा शान्ति तथा पर्यटन, गण्डकीमा हरित रग्बी तथा जिम्मेवार पर्यटन, कर्णालीमा जलवायु कार्य, कोशीमा युवा नेतृत्व, सुदूरपश्चिममा प्रकृति तथा जैविक विविधता र बागमतीमा राष्ट्रिय एकता तथा रग्बीको दीर्घकालीन विरासत कार्यक्रम हुने छ ।
दोस्रो चरणमा सात प्रदेशदेखि विश्वमञ्चसम्म रग्बी अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यसमा २०२७ अप्रिलमा आयोजकले सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरी विश्व कीर्तिमान कायम गर्ने योजना बनाएको छ । तेस्रो चरणमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनु हो ।
त्यस अभियानमा सगरमाथा क्षेत्रको उचाईमा टी वान रग्बी प्रतिस्पर्धा गरिनेछ । उक्त खेल २०२८ अप्रिलमा हुने तालिका छ । आयोजक अध्यक्ष तामाङका अनुसार २ वर्ष लामो यो अभियानले युवा विकास, महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धन, जलवायु कार्य, सांस्कृतिक आदानप्रदान र रग्बी विकासमा टेवा पुग्नेछ ।
शुक्रवार घोषणा कार्यक्रममा उक्त बृहत अभियान बारे समुहगत छलफलको पनि गरिएको थियो । त्यसमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, एसिया रग्बीको उपाध्यक्ष तथा राखेपका पुर्व सदस्य सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, अस्ट्रेलियाका कार्यबाहक राजदुत ग्रेग क्लेवन, कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष राखेप प्रमोद हमाल, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्की लगायतले रग्बी अभियानमा साथ दिने बताएका थिए ।
