नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ ।

रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख गरे ।

“सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न र नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुसी छौं । क्रिकेटले मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमको रूप लिएको छ भने एनपीएलले नेपालमा यस खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ । खेलकुद र पर्यटनबीच स्वाभाविक सम्बन्ध छ । ठूला खेलकुद प्रतियोगिताले खेलाडी, समर्थक, व्यवसायी र आगन्तुकलाई एकै ठाउँमा ल्याएर नेपाललाई नयाँ तरिकाले अनुभव गर्ने अवसर सिर्जना गर्छन्,” पाठकले भने ।

उनले नेपाली क्रिकेटको प्रवर्द्धन, खेल पर्यटनलाई प्रोत्साहन र नेपाललाई स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा सहयोग गर्न पाउँदा गर्व लागेको बताए । उनले एनपीएल यात्राभरि सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सफल र अर्थपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रोयल ट्युलिप काठमाडौंसँगको साझेदारीले टोलीको आतिथ्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै खेलकुद र पर्यटनबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।

“रोयल ट्युलिप काठमाडौंजस्तो प्रतिष्ठित आतिथ्य संस्थासँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । एनपीएल क्रिकेट प्रतियोगिता मात्र नभई नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर पनि हो । यस साझेदारीमार्फत खेलाडी, समर्थक र प्रतियोगितासँग जोडिएका आगन्तुकलाई गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्ने अपेक्षा गरेका छौं । नेपाली क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण छ । रोयल ट्युलिप काठमाडौंसँगको सहकार्य अर्थपूर्ण र सफल हुने विश्वास लिएका छौं,” खड्काले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *