विराटनगर । विराटनगरमा आयोजित दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ । सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते सम्पन्न प्रतियोगिताको फाइनलमा अन्नपूर्ण टोलीलाई पछि पार्दै आई मोबाइल इन्टरकन्टिनेन्टलले उपाधि हात पारेको हो ।
विराटनगरको भिआईपी रोडस्थित जेएनएल फुटसलमा भएको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा आई मोबाइल इन्टरकन्टिनेन्टल र अन्नपूर्णबीच प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट प्रदर्शन गर्दै आई मोबाइल इन्टरकन्टिनेन्टलले प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सिद्धान्त लोहनी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । महबुब इराकीले उत्कृष्ट बलरको उपाधि जित्दा फिरदोस अन्सारी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको समापन कार्यक्रममा मार्टर्स मेमोरियल कलेजका अध्यक्ष विष्णु डंगोल प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
दशैँको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न र इन्डोर क्रिकेटको प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सिद्धार्थ स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताले विराटनगरमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउन र स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउन योगदान पुर्याएको छ ।
