अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा हुने भएको छ ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा एसिया सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरू सहभागी हुनेछन् ।

सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एसियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ ।

‘यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ’, क्यानले भनेको छ ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *