ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सलहेस युथ क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ ।
भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २-० गोल अन्तरले स्तब्ध पार्दै सलहेस उपाधि नजिक पुगेको हो ।
खेलको पहिलो हाफ गोलरसहित बराबरी सकिएको थियो । खेलको ६२औं मिनेटमा निसकुमार श्रेष्ठले गोल गर्दै सलहेसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले फागुराम थारुको पासमा उक्त गोल गरेका थिए ।
त्यसपछि खेलको ७२औं मिनेटमा निसकुमारको पासमा फागुराम थारुले गोल गरेपछि सलहेसले २–० को अग्रता बनाउँदै जित सुनिश्चित गर्यो ।
सलहेशका लागि एक गोल र एक एसिस्ट गरेका फागुराम थारु खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार बुधबार अन्तिम सेमिफाइनल खेल पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ फुटबल क्लबबिच हुनेछ । प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ ।
आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।
त्यस्तै, टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई उपहारस्वरूप स्कुटर प्रदान गरिने अध्यक्ष मादेनले जानकारी दिनुभयो । प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
