ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापा-११ लाई हराउँदै फिदिम स्पोर्टिङ क्लब पाँचथरले फाइनल यात्रा तय गरेको छ ।

भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा झापा-११ लाई १–० गोल अन्तरले पाखा लगाउँदै फिदिमले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो ।

फाइनलमा प्रवेश गरेसँगै फिदिमले कम्तिमा तीन लाख ५२ हजार ८३ रुपैयाँ सुरक्षित गरेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले सात लाख दुई हजार ८३ रुपैयाँ पाउनेछ ।

फिदिमको जितमा सुशन जबेगुले खेलको ३४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच फिदिमका खेलाडी मिराक खजुम घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।

फाइनलमा फिदिमले सिराहाको सलहेस युवा क्लबको सामना गर्नेछ । सलहेसले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

सलहेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको डिफेन्डिङ च्याम्पियन हो । दोस्रो संस्करणमा उपविजेता बनेको सलहेसले तेस्रो संस्करणमा उपाधि जितेको थियो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

त्यस्तै, टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई उपहारस्वरूप स्कुटर प्रदान गरिने अध्यक्ष मादेनले जानकारी दिनुभयो । प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *