विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।

असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ । उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन् ।

असलंकाले सन् २०२१ मा इंग्ल्याण्डविरुद्ध ओडीआई तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । टी–२० अन्तर्राष्ट्रिय डेब्युमै उनले २६ बलमा ४४ रन बनाउँदै प्रभावशाली सुरुवात गरेका थिए ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२१ मा असलंकाले श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा ६ खेलबाट २३१ रन बनाउँदै उनी श्रीलंकाका सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए । उनले उक्त प्रतियोगितामा ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो ओडीआई शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा तथा आक्रामक ब्याटरका रूपमा स्थापित हुँदै आएका छन् । बलिङतर्फ पनि योगदान दिन सक्ने उनी उपयोगी अलराउन्डरका रूपमा परिचित छन् ।

टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १,४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३,७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन् ।

असलंकाले जुलाई २०२४ मा श्रीलंकाको टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । त्यसै महिनाको अन्त्यमा उनले एकदिवसीय टोलीको कप्तानीको जिम्मेवारीसमेत पाएका थिए । सन् २०२४ देखि २०२५ सम्म श्रीलंकाको सीमित ओभरको क्रिकेटको नेतृत्व गरेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन् ।

विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।

“चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई विराटनगर किङ्समा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगर किङ्सले जनाएको छ ।

टोलीले असलंकाको अनुबन्धसँगै एनपीएल सिजन–३ का लागि आफ्नो टोलीलाई अझ प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको जनाएको छ । विराटनगर किङ्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न आफू उत्साहित रहेको बताए ।

“नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु । अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने ।

उनले विराटनगर किङ्सका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्दै समर्थकलाई सम्झनलायक क्षण दिने लक्ष्य रहेको पनि बताए । “विराटनगर किङ्ससँग मिलेर उत्कृष्ट क्रिकेट खेल्ने, टोलीका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने तथा समर्थकहरूलाई सम्झनलायक क्षणहरू दिने मेरो लक्ष्य हुनेछ । एनपीएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न पाउनु मेरा लागि विशेष अनुभव हुनेछ । विराटनगर किङ्सको परिवारमा जोडिन पाउँदा म गर्व र उत्साह दुवै महसुस गरिरहेको छु,” उनले भने ।

असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेशनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् । हाल उनी इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *