तास्मानियाविरुद्धको पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाल ‘ए’ दुई विकेटले पराजित भएको छ । १९३ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले ४९.२ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेटायो ।

तास्मानियाका लागि गाबे बेलले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२ तथा विल प्रेस्टविजले २३ रनको योगदान दिए । नेपालका लागि दीपक डुम्रेले र शाहब आलमले समान २ विकेट लिए । यस्तै आकाश चन्द, रिजन ढकाल र पवन सर्राफले समान १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको नेपाल ४३.३ ओभरमा मात्र १९२ रनमा समेटिएको थियो । नेपाल ‘ए’ का लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

मायन यादवले ३२ तथा कुशल मल्लले २९ रनको योगदान दिए । दीपक डुम्रेले १८ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे । लोकेश बमले ११ रन जोडे । तास्मानियाका बिली स्टानलेकले ४ विकेट लिए । विल प्रेस्टविज र राफ म्याकमिलनले समान २ विकेट लिँदा लाचलान क्लार्कले एक विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *