विराटनगर । एशियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगिताको ट्रफी विराटनगरमा भव्य कार्यक्रमबीच अनावरण गरिएको छ । विराटनगरस्थित विकेभिएम स्कुलमा आयोजित कार्यक्रममा ट्रफी अनावरणपछि नगर परिक्रमा गराउँदै सहिद रंगशालामा पुर्‍याइएको थियो ।

ट्रफीलाई महेन्द्र चोक हुँदै करगाछीबाट सहिद रंगशालासम्म नगर परिक्रमा गराइएको हो । प्रतियोगिताको ट्रफी नेपालका सातवटै प्रदेशका राजधानीमा परिक्रमा गराइने आयोजकले जनाएको छ ।

कार्यक्रमको सभापतित्व कोशी प्रदेश खेलकुद विकास संघका उपाध्यक्ष बसन्त अर्यालले गरेका थिए भने विकेभिएम स्कुलका प्रिन्सिपल रविन दाहाल प्रमुख अतिथि रहेका थिए ।

एशियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगितामा देशभरका २ हजार २ सयभन्दा बढी विद्यालयका विद्यार्थी खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले विद्यालय तहमा रहेका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय स्तरमा पुग्ने बाटो समेत खोल्ने अपेक्षा गरिएको छ ।

मोरङ जिल्लाको फाइनल खेल कान्तिपुर कलेज र मेरिल्याण्ड कलेजबीच हुँदैछ । प्रदेशभर प्रतियोगितामा सहभागी टोलीमध्येबाट एक टोली राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै विकेभिएम स्कुलका प्रिन्सिपल रविन दाहालले विद्यालय तहदेखि नै खेलाडीको प्रतिभा पहिचान र विकास गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए । उनले यस्ता प्रतियोगिताले विद्यार्थी खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्न थप प्रेरणा र अवसर प्रदान गर्ने धारणा व्यक्त गरे ।

ट्रफी अनावरण तथा नगर परिक्रमा कार्यक्रममा नेपालका पूर्व तथा वर्तमान राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले विराटनगरमा यू–१८ फुटबलप्रति थप उत्साह र आकर्षण बढाएको आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *