काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुद मन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघले टोलीको सम्मानमा आयोजना गरेको बिदाई तथा शुभकामना कार्यक्रममा महर्जनले नगद पुरस्कार घोषणा गरेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
महर्जनले प्रोत्साहन स्वरुप स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजतलाई १ लाख र कांस्यलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ट्रयाकसुट पनि प्रदान गरेका थिए। यसअघि पूर्व उसु खेलाडीहरु पनि एसियाडमा कुनैपनि पदक जित्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए।
जापानको आइची-नागोयमा असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुमा थाउलो र सान्सौंमा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट ८ पुरुष र २ महिला खेलाडी सहभागी हुँदै छन् । थाउलोमा ६ र सान्सौंमा ४ खेलाडीले चुनौती पेश गर्ने छन् ।
थाउलोमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले खेल्ने छन् । सान्सौंमा रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्ला सहभागी हुने छन् । थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौं प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य छन् ।
