नेपालका अन्तर्राष्ट्रिय तेक्वन्दो निर्णायक अशोक खड्काले सर्बियामा आयोजना हुने मल्टी युरोपियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

ग्यारोगी तथा पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायक खड्काले सेप्टेम्बर ११ देखि १३ सम्म हुने तेक्वान्दोतर्फको प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका हुन् । त्यसका लागि अशोक बुधबार सर्विया प्रस्थान गर्नेछन् ।

खड्का अन्तर्राष्ट्रिय तेक्वान्दोमा लामो समयदेखि निर्णायकका रूपमा सक्रिय छन् । उनले यसअघि विश्व तेक्वान्दो च्याम्पियनसिप,  इस्ट एसियन युथ गेम्स, विश्व तेक्वान्दो पुम्से च्यालेन्ज, १३औँ दक्षिण एसियाली खेलकुद (साग) तथा ओलम्पिक छनोट क्याम्प लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले विश्व तेक्वान्दो महासंघको विश्व वरीयतामा समावेश हुने ५० भन्दा बढी ‘जी’ स्तरका प्रतियोगितामा रेफ्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै विभिन्न देशमा आयोजना भएका थुप्रै ओपन च्याम्पियनसिपमा पनि उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट निर्णायकका रूपमा खड्काले दर्जनौँ उत्कृष्ट रेफ्री अवार्ड समेत प्राप्त गरिसकेका छन् । उनको योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उनलाई ‘उत्कृष्ट रेफ्री’ का रूपमा सम्मान गरिसकेको छ ।

अन्तर्राष्ट्रिय निर्णायकको भूमिकासँगै खड्का नेपाली तेक्वान्दोको विकासमा समेत सक्रिय छन् । उनी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *