गण्डकी ११ ले दोस्रो तथा अन्तिम टि-२० अभ्यास खेलमा भुटानविरुद्ध ६४ रनको जित निकालेको छ ।
यो जितसँगै गण्डकीले दुई खेलको अभ्यास श्रृंखला २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा गण्डकी ८ विकेटले विजयी भएको थियो ।
बुधबार पोखरा क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको भुटान १७.४ ओभरमा १३२ रनमै समेटियो ।
भुटानका सोनम छोपेलले २१ बलमा ४३ रन बनाए । यस्तै नवौं नम्बरमा आएका टासी दोर्जेले ११ बलमा ३१ रनको केमियो खेले ।
बलिङमा नेपालका कप्तान विपन खत्रीले ४ ओभरमा ४ विकेट तथा दीपक डुम्रेले ३ ओभरमा ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रनको योगफल तयार पारेको थियो ।
गण्डकीका सिब्रिन श्रेष्ठ, करण पंगेनी र सन्दीप खत्रीले बिष्फोटक ब्याटिङ गर्दै टीमलाई उकासेका थिए । सिब्रिनले २४ बलमा ४५ रन, करणले २७ बलमा ४५ रन र सन्दीपले ९ बलमा ३० रन प्रहार गरे । दीपक डुम्रेले पनि १० बलमा १९ रन हानेर आक्रामकता देखाएका थिए ।
गण्डकीका ओपनर अर्जुन कुमाल आज चलेनन् । उनी ३ बलमा २ रन बनाएर आउट भए । भुटानका थिनले जम्त्सोले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । सोनाम यासेले २ विकेट लिए ।
भोलि क्यान ११ र भुटानबीच खेल पोखरा रंगशालामा हुँदैछ ।
