फ्युजन एफसी, उदयपुर प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा तालतलैया फुटबल क्लब (निलो), सुनसरीलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै फ्युजनले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारित समयमा तालतलैयाका लागि आरेश चौधरीले गोल गरे भने फ्युजनका लागि पबिन राईले गोल गरे ।
खेलको म्यान अफ दि म्याच भने तालतलैयाका अजन प्रधान घोषित भए । उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा भोलि बुधबार महुली फुटबल क्लब, सप्तरी र सतिसाले फुटबल क्लब, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।
