ग्ल्याडस्टोन एकेडेमीले दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा भएको फाइनलमा ग्ल्याडस्टोनले स्वस्तिश्री गुरुकुललाई ४-० गोलले पराजित गर्यो । प्रशान्त श्रेष्ठ र आरिक पौडेलले समान २-२ गोल गरे ।
द भेलोसिटी स्कुलद्वारा आयोजित प्रतियोगितामा चेल्सी वल्र्ड स्कुल तेश्रो भयो । चेल्सीले नव ज्ञान पाठशालालाई ३-० गोलले हरायो । अभिषेक ढकाल, रायन श्रेष्ठ र फुर्वा छिरिङ शेर्पाले समान १-१ गोल गरे । डिफेन्डिङ च्याम्पियन विद्यावाणी पाठशाला भने क्वाटरफाइनलमै रोकियो ।
ग्ल्याडस्टोनका विनेन तामाङ उत्कृष्ट खेलाडी, स्वस्तिश्रीका समिर बोहरा उत्कृष्ट गोलरक्षक तथा ग्ल्याडस्टोनका प्रशान्त श्रेष्ठ (११ गोल) सर्वाधिक गोलकर्ता बने । नव ज्ञान पाठशालाले अनुशासित टिमको ट्रफी हात पार्यो ।
विजेतालाई राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ, भेलोसिटीकी प्रिन्सिपल रेखा खनाल, भेलोसिटीका एडमिन हेड एवं प्रतियोगिता संयोजक सुप्रभ घिमिरेलगायतले पुरस्कृत गरे ।
‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने नारासाथ आयोजित प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका २४ टिम सहभागी थिए ।
