१० खेलाडीमा सीमित बनेको लेन्सले पीएसजीलाई हराउँदै ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ ।
आइतबार राती भएको खेलमा पीएसजीलाई १-० ले हराउँदै लेन्सले उपाधि हात पारेको हो । घरेलु मैदान बोलार्ट-देलिस रंगशालामा लेन्सलाई जित दिलाउन कप्तान फ्लोरियन थाउभिनले निर्णायक गोल गरे । उनले खेलको ३२औं मिनेटमा गरेका थिए ।
पहिलो हाफ सकिनुअघि किलियन एन्टोनियोले म्याग्नेस अक्लिउशमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाएसँगै लेन्स १० खेलाडीमा सीमित भयो ।
त्यसैगरी, खेल सकिन चार मिनेट बाँकी हुँदा नुनो मेन्डेसले मिखाल स्कोरासको अनुहारमा हात प्रहार गरेपछि पीएसजी पनि १० खेलाडीमा सीमित भएको थियो ।
ट्रफी डेस च्याम्पियन्स गत सिजनमा फ्रेन्च लिग विजेता र कोप डे फ्रान्स विजेताबीच हरेक सिजन शुरु हुनु आगाडी खेल्ने गरिन्छ । लेन्सले यो उपाधि पहिलो पटक जितेको हो भने पीएसजीले यसअघि १४ पटक यो जितेको छ ।
