दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै लिग लिडर अल नासरले साउदी प्रो लिगमा अल इतिफाकमाथि ३-२ को शानदार जित हासिल गरेको छ ।

१० खेलाडीमा सीमित भएको अल नासरले दोस्रो हाफमा तीन गोल गर्दै रोमाञ्चक जित निकालेको हो । खेलको १२औं मिनेटमा नै गोलरक्षक बेन्तो क्रेप्स्कीले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ३१औं मिनेटमा ओन्द्रेज डुडाले गोल गर्दै अल इतिफाकलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अल्भारो मेद्रानले अल इतिफाकको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा भने खेल पूर्ण रूपमा बदलियो । अल नासरले मध्यान्तरमा क्रिस्टियानो रोनाल्डोलाई बाहिर निकाल्यो । अल नासरका लागि ७४औं मिनेटमा साडियो मानेले गोल गर्दै पहिलो गोल फर्काएका थिए भने अब्दुल्लाह अल अम्रीले ७७औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए ।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा साडियो मानेले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई नाटकीय जित दिलाए । जितसँगै ३ खेलमा सतप्रतिशत नतिजा निकालेको अल नासर ९ अंकका साथ साउदी प्रो लिगको शीर्ष स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *