सुनसरीको इटहरीस्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगितामा सतिसाले स्पोर्टिङ क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार तरहरा फुटबल क्लबको खेल मैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा शान्तिनगर फुटबल क्लब, सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै सतिसालेले सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलको १५औं मिनेटमा विकास परियारले गोल गर्दै सतिसालेलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि अर्थात् खेलको १७औँ मिनेटमा नितेश लिम्बूले आकर्षक फिनिसिङ गर्दै सतिसालेको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको नवौँ मिनेटमा शान्तिनगरका विवेक राईले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच सतिसालेका नितेश लिम्बू घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।
प्रतियोगिताअन्तर्गत मंगलबारको तेस्रो क्वार्टरफाइनल खेल सुबबिहानी क्लब, सुनसरी र युनाइटेड क्लब अफ तरहरा, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।
