काठमाडौं । नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा गोदावरी–३, ललितपुरमा सम्पन्न ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को महिलातर्फको उपाधि अम्बासेडर एकेडेमी र पुरुषतर्फको उपाधि खालिबारी एफसीले जितेको छ ।
भदौ १२ र १३ गते दुई दिन सञ्चालन भएको प्रतियोगिताको फाइनलमा खलिबारी एफसीले टीएसएसलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको थियो ।
महिलातर्फ फाइनलमा अम्बासेडर एकेडेमीले बुद्धि विकास खेल मण्डललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरिमा सकिएको थियो ।
महिलातर्फ प्रतियोगितामा ७ टोली सहभागी भएका थिए । उपाधि विजेता अम्बासेडर एकेडेमीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बुद्धि विकास खेल मण्डलले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानका अनुसार स्थानीय स्तरमा फुटबल खेलको विकास तथा महिला खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दिनेशको स्मृतिमा समर्पित गरिएको उनले बताए ।
अध्यक्ष स्याङ्तानले प्रतियोगिताले स्थानीय महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।
