काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ ।

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ ।

फाइनल खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो । खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, लगत्तै मेन्टेनका तर्फबाट रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

खेलको नवौँ मिनेटमा होराकका लागि सैलेन्द्र मगरले अर्को गोल गरेपछि पहिलो हाफमा होराक २-१ ले अघि रह्यो ।

दोस्रो हाफको अन्तिम मिनेटमा होराकले पुनः गोल गर्दै ३-१ को बलियो अग्रता बनाएको थियो । तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले उत्कृष्ट पुनरागमन गराए । योगेशले लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा मेन्टेनले ४-३ को जित निकाल्दै पहिलो संस्करणको उपाधि चुम्न सफल भयो ।

साउन १५ देखि १७ गतेसम्म आयोजना भएको यस प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको थियो ।

पहिलो क्वार्टरफाइनल: मेन्टेन एफसीले नोबेल फुटबल एकेडमीलाई २-० ले हरायो (लाक्पा तामाङ र पेमा तामाङको १-१ गोल) ।

दोस्रो क्वार्टरफाइनल: होराक एफसीले डाइनामिक एफसीलाई ३-१ ले पराजित गर्‍यो (विक्रान्त राणाको २ गोल र सन्दीप कार्कीको १ गोल)।

तेस्रो क्वार्टरफाइनल: ठमेल ११ ले एभरेस्ट एफसीलाई ३-१ ले पराजित गर्‍यो ।

चौथो क्वार्टरफाइनल: रोयल नेपालले करुणा एफसीलाई ४-० को फराकिलो अन्तरले पाखा लगायो ।

यस्तै, पहिलो सेमिफाइनलमा होराक एफसीले ठमेल ११ लाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा मेन्टेन एफसीले निर्धारित समय १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा रोयल नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ठमेल ११ ले रोयल नेपाललाई २-१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो ।

प्रतियोगिताको विजेता बनेको मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको आयोजक संस्था पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *