काठमाडौँ । नेपाल स्क्वास संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ ।
नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष धुव्रबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट अरहान्तकेशर सिम्ह, दीपक थापा, पासाङ ब्लोन, सरोज तामाङ, राकेश परियार र नयनबहादुर मगरले चुनौती पेश गर्ने छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । विजेताले ४००, उपविजेताले २०० तथा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० अमेरिकी डलर प्राप्त गर्ने प्रतियोगिताका निर्देशक रुपकदास ताम्राकारले बताए । त्यस्तै क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।
