बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ ।

तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।

सन् २०२६ को जुलाई १५ देखि १९ तारिखसम्म भएको दक्षिण एसियाली करातेको विभिन्न स्पर्धामा मिनबहादुर तामाङले स्वर्ण, सुविन सुनारले रजत तथा अनु मुक्तान तामाङ, रेगन घले र नोर्विन गजुरेलले कांस्य जितेका थिए ।

मिनलाई कराते प्रशिक्षक महेश महर्जनले प्रोत्साहन स्वरुप व्यक्तिगत ५ हजार नगद पुरस्कार पनि प्रदान गरेका थिए । मिन जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

सोही अवसरमा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको विभिन्न स्पर्धामा पदक जितेका तेजस्वीका विद्यार्थी निरज शाह पनि सम्मानित भए ।

ग्रेडिङमा ७० खेलाडी सहभागी थिए । त्यसमध्ये मिचेल घले उत्कृष्ट खेलाडी घोषित भइन् । सशस्त्र प्रहरीका एसएसपी जहरसिंह बुढा मगर, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, तार्केश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै ग्रेडिङमा सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *