विराटनगर । विराट स्पोर्ट्स जोनले आयोजना गरेको प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रिनल्याण्डले राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई पछि पार्दै उपाधि हात पारेको हो । राइजिङ नेपाल उपविजेतामा सीमित भयो ।

८ ओभरको प्रारूपमा सञ्चालन भएको प्रतियोगितामा विराटनगर क्षेत्रका चार सामुदायिक विद्यालयसहित ३२ विद्यालय सहभागी थिए । विद्यालय तहबाटै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा हेरिटेज इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । व्यक्तिगत विधातर्फ ७ विकेट लिएका ग्रिनल्याण्डका अमिर मण्डल उत्कृष्ट बलर बने भने प्रतियोगिताभर १७५ रन बनाएका डेनिस राजा उत्कृष्ट ब्याट्सम्यान घोषित भए । त्यस्तै, कक्षा ५ मा अध्ययनरत हेरिटेज इन्टरनेसनल स्कुलका आयान कट्टेल उदयमान खेलाडी घोषित भए । प्रतियोगितामा ७८ रन बनाउनुका साथै ३ विकेट लिएका ग्रिनल्याण्डका कृष्णराज यादव प्लेयर अफ द टुर्नामेन्ट बने ।

समापन समारोहमा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुद विद्यार्थीमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए । विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेतले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै मानसिक रूपमा अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्ययनसँगै खेलकुदमा सहभागी गराउँदा विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले विद्यार्थीलाई विद्यालय तहदेखि नै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सके लागूऔषधको कुलतबाट टाढा राख्न सकिने बताए। विद्यार्थीको ऊर्जा र समयलाई सकारात्मक गतिविधिमा केन्द्रित गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनले उल्लेख गरे ।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले विद्यालयस्तरबाटै क्रिकेटको विकास गर्ने र सम्भावना बोकेका खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताले विद्यार्थी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर दिएको छ ।

समापन समारोहमा विजेता ग्रिनल्याण्ड, उपविजेता राइजिङ नेपाल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिताको संचालन स्पोर्ट्स जोनका नवराज काफ्लेले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *