ललितपुर । पाभिलियन्स चेस एकेडेमीको आयोजनामा ललितपुरको सातदोबाटोस्थित एसजीपीए भवनमा सम्पन्न ‘श्रम संस्कृति पार्टी बिलो १७०० फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता’ को उपाधि राजकुमार राईले जितेका छन् ।

९ चरणको प्रतिस्पर्धापछि राईले ८ अंक जोड्दै उपाधि हात पारेका हुन् । समान ८ अंकसहित पञ्चकुमार साहु दोस्रो तथा अबिन पाण्डे तेस्रो भए। प्रतियोगितामा मादन राई ७.५ अंकसहित चौथो स्थानमा रहे । त्यस्तै जनकराज जोशी ७ अंकसहित पाँचौँ, अग्रिम सैँजु छैटौँ, प्रचण्ड राम्टेल सातौँ, महमद जनिल अल सैयाद आठौँ, सबिन उदास नवौँ र सुन्दर श्रेष्ठ दशौँ स्थानमा रहे ।

प्रतियोगितामा बिलो १७०० रेटिङका १८३  खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न उमेर समूह, महिला, सिनियर, अनरेटेड तथा पाभिलियन्स चेस एकेडेमीका विद्यार्थीका लागि समेत छुट्टाछुट्टै विधामा पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ६ हजार ५ सय रुपैयाँ रहेको थियो । मुख्य विधामा प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार तथा चौथोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा आयोजित प्रतियोगिताले नयाँ तथा युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै नेपाली बुद्धिचालको विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *