विराटनगर । विराट स्पोर्ट्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको दोस्रो दिन बिहिवार सात खेल सम्पन्न भएका छन् ।

८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, जेसी बाल सदन, राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल, कान्तिपुर सेकेन्डरी स्कुल, ग्रीन पिस एकेडेमी, कोशी विद्या मन्दिर र श्री पोखरिया सेकेन्डरी स्कुल विजयी भएका छन् ।

दिनको पहिलो खेलमा आदर्श सेकेन्डरी स्कुलले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ८९ रन बनायो । जवाफमा लर्ड बुद्ध निकेतनले ८ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन मात्र बनाउन सकेपछि आदर्श ३६ रनले विजयी भयो । गौरव राय प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा बुढानिलकण्ठ सेकेन्डरी स्कुल ५.३ ओभरमा २३ रनमै समेटियो । २४ रनको सामान्य लक्ष्य पछ्याएको जेसी बाल सदनले ३.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो । आशुतोष गुरागाईं प्लेयर अफ द म्याच बने ।

तेस्रो खेलमा राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलले ८ ओभरमा ३ विकेट गुमाएर १४० रनको विशाल योगफल तयार गर्यो । सेन्ट जोसेफ सेकेन्डरी स्कुलले ८ ओभरमा ४ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो । राइजिङका ड्यानिश राजाले ४५ बलमा अविजित ११० रन प्रहार गर्दै प्रतियोगिताको पहिलो शतक पूरा गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।

चौथो खेलमा कान्तिपुर सेकेन्डरी स्कुलले ८ ओभरमा ५ विकेट गुमाएर ६६ रन बनायो । विनायक बोर्डिङ सेकेन्डरी स्कुल ७.२ ओभरमा ५७ रनमा अलआउट भएपछि कान्तिपुर ९ रनले विजयी भयो । सुजित यादव प्लेयर अफ द म्याच घोषित भए ।

पाँचौं खेलमा ग्रीन पिस एकेडेमीले ८ ओभरमा ५ विकेट गुमाएर १०३ रन बनायो । जवाफमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल ६ ओभरमा ६ विकेट गुमाएर ३९ रनमा सीमित भएपछि ग्रीन पिस ६४ रनले विजयी भयो । मेराज शेख प्लेयर अफ द म्याच बने ।

छैटौं खेलमा कोशी विद्या मन्दिरले ८ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनायो । देदराज सेवालीदेवी टोडी डीएभी केडिया विश्वभारतीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन मात्र बनाउन सकेपछि केभीएम १३ रनले विजयी भयो । प्रिन्स दास प्लेयर अफ द म्याच घोषित भए ।

सातौं खेलमा श्री पोखरिया सेकेन्डरी स्कुलले ८ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनायो । जवाफमा मोडर्न एरा इङ्ग्लिस स्कुलले निर्धारित ८ ओभरमा २ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । पोखरिया २६ रनले विजयी भयो । अर्बिन शाह प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता शुक्रबार पनि निरन्तर सञ्चालन हुने आयोजक विराट स्पोर्ट्स जोनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *