नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध २७ रनको जित निकालेको छ । यो जितसँगै नेपालले दुई खेलको अभ्यास शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ ।
पहिलो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो । बिहीबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य मलेसिया ४०.१ ओभरमा १४३ रनमै समेटियो ।
मलेसियाका अकिल वाहिदले सर्वाधिक ५६ रनको योगदान गरे । उनले १०८ बलमा ६ चौका प्रहार गरे । नजमुस सकिबले ४८ बलमा ९ चौकासहित ५१ र कप्तान सैयद अजिजले १० रन बनाए ।
नेपालका ललितनारायण राजवंशीले तीन, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कप्तान सन्दीप लामिछानेले दुई–दुई तथा हेमन्त धामीले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाएर १७० रनको योगफल तयार पारेको थियो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ८६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । गुल्सनकुमार झाले ४५, कप्तान सन्दीप लामिछानेले १३ तथा अर्जुन कुमाल र आसिफ शेखले १०–१० रन बनाए । छैटौँ विकेटका लागि रोहित र गुल्सनबीच ५९ रनको साझेदारी भएको थियो ।
मलेसियाका अकिल वाहिदले चार, सैयद अजिजले तीन, रिजवान हैदरले दुई र अमिर अजिमले एक विकेट लिए । नेपालले एसीसी प्रिमियर कपको तयारीस्वरुप मलेसियासँग अभ्यास खेल खेलेको हो ।
