इटहरी । आडियल स्पोर्ट्स एकेडमीको आयोजनामा सम्पन्न पाँचौँ इन्टर स्कुल इन्डोर क्रिकेट लिग–२०८३ को उपाधि जनता माध्यमिक विद्यालयले जितेको छ ।

बिहीबार इटहरी रंगशालास्थित इन्डोर क्रिकेट हलमा सम्पन्न फाइनलमा जनता माविले विश्व आदर्श एकेडेमी (VAC) लाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनलमा पहिले ब्याटिङ गरेको जनता माविले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ६८ रन बनाएको थियो । जवाफमा विश्व आदर्शले ६ ओभरमै सबै ५ विकेट गुमाउँदै ४० रन मात्र बनाउन सक्यो। यससँगै जनता मावि २८ रनले विजयी हुँदै उपाधिको हकदार बन्यो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका जनता माविका अहसान खान ‘म्यान अफ द फाइनल’ घोषित भए । उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै १३७ रन बनाउनुका साथै ४ विकेटसमेत लिएर ‘प्लेयर अफ द सिरिज’ को उपाधिसमेत हात पारे । प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको अवार्ड पनि खानले पाए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटरको अवार्ड नेपाल डीभीएम ग्लोबल एकेडेमीका आयुष पोखरेलले पाए । उनले प्रतियोगिताभर १११ रन बनाए। उत्कृष्ट बलरको अवार्ड पनि नेपाल डीभीएमकै रिवाज बोहोराले हात पारे। उनले प्रतियोगितामा १० विकेट लिए । नेपाल डीभीएम ग्लोबल एकेडेमीका आदित्य पौडेललाई प्रतियोगिताको ‘इमर्जिङ प्लेयर’ घोषित गरिएको छ ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन डिभिएम स्कुलले कोसी सेन्टजेम्सलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । 

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई प्रमुख अतिथी इटहरी ९ का वडाअध्यक्ष जितेन थापा, बिश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल, इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सुवास हमाल, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदी लगायतले पुरस्कर बितरण गरे ।

बुधबार सम्पन्न सेमिफाइनलमा जनता माविले कोशी सेन्टजेम्सलाई २७ रनले तथा विश्व आदर्शले नेपाल डीभीएम ग्लोबल एकेडेमीलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई इन्डोर क्रिकेटमा प्रतिस्पर्धात्मक अवसर प्रदान गरेको आयोजक आइडियल स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *