आइतबार राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलको टिकट अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो हुने भएको छ ।

अर्जेन्टिना र स्पेनबीच हुने फाइनलका लागि टिकटको औसत मूल्य ११ हजार ३२७ अमेरिकी डलर (करिब १७ लाख ४३ हजार रुपैयाँ) पुगेको छ । अमेरिकी सञ्चारमाध्यम यूएसए टुडेका अनुसार टिकपिक, स्टबहब, सिटगिक र गेमटाइमजस्ता सेकेन्डरी टिकट बजारमा समेत सबैभन्दा सस्तो टिकटको मूल्य ७ हजार ३०० देखि ८ हजार अमेरिकी डलरसम्म पुगेको छ ।

अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्डको मेटलाइफ स्टेडियममा हुने फाइनलमा विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी सम्भावित अन्तिम विश्वकपमा अर्को उपाधि जित्ने लक्ष्यमा छन् भने स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने प्रयासमा छ । यिनै कारणले फाइनल प्रत्यक्ष हेर्न चाहने दर्शकको माग अत्यधिक बढेको बताइएको छ ।

टिकट बिक्री कम्पनी टिकपिकका अनुसार यसपटकको विश्वकप फाइनल अमेरिकी इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगिताको टिकट बनेको छ । टिकपिकका उपाध्यक्ष म्याट फेरेलले यो विश्व फुटबलको ऐतिहासिक क्षण भएकाले टिकटको माग अभूतपूर्व रूपमा बढेको बताए । उनका अनुसार फाइनलमा जुनसुकै टोली पुगे पनि टिकटको माग उच्च हुने अपेक्षा गरिए पनि अर्जेन्टिना र स्पेनको भेटपछि मूल्य थप चुलिएको हो । बिहीबारसम्म टिकपिकमा सबैभन्दा सस्तो टिकट ७ हजार ४०२ डलरमा उपलब्ध थियो ।

स्टबहबमा ८ हजार १८ डलर, गेमटाइममा ७ हजार ३६२ डलर र सिटगिकमा ७ हजार ७१९ डलरसम्म मूल्य पुगेको छ । फेरेलका अनुसार सेमिफाइनलअघि फाइनल टिकटको न्यूनतम मूल्य करिब ६ हजार डलर रहेको थियो । अर्जेन्टिना र स्पेनले फाइनलमा स्थान सुरक्षित गरेपछि टिकटको मूल्य थप वृद्धि भएको हो ।

अमेरिकामा फुटबलप्रतिको बढ्दो आकर्षण, विश्वकप फाइनलको महत्व तथा मेसीको सम्भावित अन्तिम विश्वकपजस्ता कारणले पनि टिकटको माग असाधारण रूपमा बढेको विश्लेषण गरिएको छ । फेरेलका अनुसार सेमिफाइनल र फाइनलबीचको छोटो समयका कारण टिकटको मूल्य घट्ने सम्भावना न्यून छ । बरु अन्तिम समयमा थप माग बढेमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *