आगामी आइतबार न्युयोर्क न्युजर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफ-टाइम ब्रेक २० देखि २५ मिनेटसम्म हुने अपेक्षा गरिएको छ । सामान्यतया १५ मिनेटको हुने हाफ-टाइम ब्रेकलाई यस पटक विशेष ‘सुपर बाउल’ शैलीको सांगीतिक कार्यक्रमका लागि बढाउन लागिएको हो ।
विशेष सांगीतिक कार्यक्रममा म्याडोना, साकिरा र चर्चित के-पप ब्यान्ड ‘बीटीएस’ले मुख्य प्रस्तुति दिनेछन् । कार्यक्रममा जस्टिन बिबरलाई पनि हालै थपिएको छ । कोल्डप्लेका गायक क्रिस मार्टिनले संयोजन गरेको यस शोमा बर्ना ब्वाइ, गुस्ताभो दुदामेल र पीएस२२ कोरसको पनि सहभागिता रहनेछ ।
फुटबलको नियमन गर्ने निकाय ‘इफाब’को नियम अनुसार खेलाडीहरूले पाउने हाफ-टाइम ब्रेक १५ मिनेटभन्दा बढी हुनु हुँदैन । यद्यपि, फिफाले १५ मिनेटको नियमित विश्राम र त्यसपछि ११ मिनेटको विशेष शो गरी समय व्यवस्थापन गर्ने विकल्पमा छलफल गरिरहेको बुझिएको छ । यसअघि न्युजर्सीमै भएको क्लब विश्वकप फाइनलमा पनि कोल्डप्ले र अन्य कलाकारहरूको प्रस्तुतिका कारण हाफ-टाइम २४ मिनेट लामो भएको थियो ।
विश्वकप फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३:०० बजे सुरु हुनेछ । खेल सुरु हुनुभन्दा अगाडि दिउँसो १:३० बजेदेखि समापन समारोह सुरु हुने तालिका छ । समापन समारोहमा हलिउड अभिनेता टम क्रुज, लाउरा पाउसिनी, निकोल शेर्जिङ्गर र रोबी विलियम्स जस्ता हस्तीहरूले प्रस्तुति दिनेछन् भने जेनिफर हड्सनले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् ।
फाइनलको भिडन्त स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । उपाधिका लागि स्पेनले अब इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
