पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै सम्पन्न विश्वकपसँगै आफ्नो विश्वकप यात्रामा पूर्णविराम लगाएका छन् । लगातार ६ संस्करण खेल्दा पनि उनले विश्वकप ट्रफी जित्ने सपना पूरा गर्न सकेनन् । अन्तिम खेलपछि मैदान छाड्दै गर्दा उनीसँगै पोर्चुगल फुटबलको एउटा ऐतिहासिक युग पनि समाप्त भएको महसुस गरिएको छ ।
सन् २०२६ को विश्वकपको अन्तिम १६ मा स्पेनसँग पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि रोनाल्डोले यही आफ्नो अन्तिम विश्वकप भएको घोषणा गरे । यद्यपि, उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने तत्काल सन्न्यास लिएका छैनन् र आगामी केही खेलमा राष्ट्रिय टोलीबाट देखिन सक्ने सम्भावना अझै बाँकी छ ।
रोनाल्डोको बहिर्गमनसँगै पोर्चुगल अब नयाँ युगमा प्रवेश गर्दैछ। राष्ट्रिय टोलीले अब मैदानभित्रको प्रदर्शन मात्र होइन, विश्वव्यापी पहिचान र प्रभावलाई पनि नयाँ ढंगले स्थापित गर्नुपर्ने चुनौती सामना गर्नेछ । दुई दशकभन्दा बढी समय उनले पोर्चुगल फुटबलको अनुहारका रूपमा भूमिका निर्वाह गरेका थिए ।
अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता र लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले मैदानबाहिर पनि पोर्चुगललाई ठूलो व्यावसायिक सफलता दिलाए । मार्केटिङ विज्ञ डानियल साका अनुसार रोनाल्डो आफैंमा विश्व फुटबलकै सबैभन्दा शक्तिशाली ब्रान्डमध्ये एक हुन् । उनका कारण पोर्चुगलले अन्तर्राष्ट्रिय बजार, प्रायोजक र करोडौं समर्थकको ध्यान आकर्षित गरेको थियो ।
अब रोनाल्डोबिनाको पोर्चुगलले खेलकुदसँगै व्यावसायिक र ब्रान्ड मूल्यको क्षेत्रमा पनि ठूलो चुनौती सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।
