काठमाडौं । प्याराडाइस स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको हो ।
प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एकेडेमीका अध्यक्ष बद्री महतले जानकारी गराए ।
ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको समूह ‘ए’ निम्स, ऋत, मनास्लु र नवोदित तथा समूह ‘बी’ मा न्युटन, ग्रिनफिल्ड, सीसीआरसी र हेराल्ड रहेका छन् ।
ओरियन्ट, सगरमाथा, भ्याली पब्लिक र लालीगुराँस नेसनल एकेडेमी समूह ‘सी’ तथा एलआरआई, गोल्डेनगेट र जेभियर समूह ‘डि’ मा छन् । समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
त्यस्तै गल्र्सको समूह ‘ए’ मा गोल्डेनगेट, निम्स, सगरमाथा र जेभियर ‘ए’ तथा समूह ‘बी’ मा एलआरआई भ्याली पब्लिक र जेभियर ‘बी’ रहेका छन् ।
समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । अध्यक्ष महतले बास्केटबलको विकास र वितारमा प्रतियोगिताले थारै भएपनि योगदान पुर्याउने विश्वास व्यक्त गर्दै नवनिर्मित संरचनाको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको बताए ।
एकेडेमीका संस्थापक विष्णु भण्डारीले प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताए । उनले १० रोपनीमा फैलिएको एकेडेमीमा बास्केटबलको संरचना निर्माण पूरा भएको बताउदै विभिन्न खेलका पूर्वाधारको पनि निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।
साउन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका ३, साइबाबा चोकस्थित आयोजकको आफ्नै कोर्ट खेलाइने छ ।
