काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा भोलि (शुक्रबार) देखि ‘पेसएक्स प्रिमियर लिग’ सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक पेसएक्स स्पोर्ट्सले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुने प्रतियोगिता साउन १५ देखि १७ गते (जुलाई ३१ देखि अगस्ट २) सम्म गरी तीन दिनसम्म चल्नेछ। प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ। खेललाई निष्पक्ष र मर्यादित बनाउन प्रोफेसनल रेफ्रीहरूले खेल खेलाउने आयोजकले स्पष्ट पारेको छ । प्रत्येक टोलीमा ७ जना खेलाडीहरू मैदानमा रहनेछन् ।
विजेतालाई १ लाख ११ हजारभन्दा बढी नगद पुरस्कार
प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको यस प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो हुने टोलीले नगद रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले नगद रु २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।
