काठमाडौं । सीसीआरसी एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले लालीगुराँस नेसनल एकेडेमीलाई ९९–५६ ले पराजित गर्यो । सीसीआरसीको सहज जितमा विसन खड्काले ३४ अंक योगदान गरे ।
सीसीआरसी ५ टिम रहेको समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह चरणमा सीसीआरसीले शत प्रतिशत जित निकाल्यो ।
एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगतामा केभीसी र पुष्पसदन पनि सेमिफाइनलमा पुगे ।
मन्दिप गौतमको २३ अंक सहयोगमा केभीसीले प्रिमियरलाई ७५–६९ ले हरायो । केभीसी समूह ‘बी’ को उपविजेता बन्यो ।
यो समूहबाट मनास्लु विजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’ को उपविजेता बन्ने क्रममा पुष्पसदनले ओमेगालाई ६२–४२ ले पाखा लगायो ।
पुष्पसदनका प्रसुन खड्गीले १५ स्कोर गरे । सेमिफाइनलमा पुष्पसदनको भेट मनास्लुसंग हुनेछ । अर्को सेमिफाइनल सीसीआरसी र केभीसीबीच हुनेछ ।
