विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ । आगामी चौथो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले संघले ३० थान जर्सी हस्तान्तरण गरेको हो ।
संघको सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव संजयकुमार श्रेष्ठलगायत पदाधिकारीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई जर्सी हस्तान्तरण गरे ।
कार्यक्रममा सांकेतिक भाषा दोभाषेका रूपमा राधिका न्यौपानेले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष राठीले फरक क्षमता भएका खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै खेल क्षेत्रमा उनीहरूको पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले खेलकुद प्रवर्द्धन र समावेशी गतिविधिमा संघको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गरे ।
मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारीले उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गर्दै यसले खेलाडीहरूमा नयाँ ऊर्जा थपिएको र आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिलेको बताए ।
