नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको हो ।

​एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो ।

खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका घाइते राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिए ।

​’यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो’ अध्यक्ष थापाले भने । ​आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई खेल मैदानमा उपस्थित भई आशिष राईको उपचार अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ ।

खेलकुदमार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको एन पेनाङ एफसीले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *