काठमाडौँ । एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिको आयोजनामा जुलाई १ देखि १९ तारिखसम्म थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबल छनोट प्रतियोगिता हुने भएको छ ।
काठमाडौँका विभिन्न स्थानमा सञ्चालन हुने छनोट खेलमा देशभरका ९५ टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा एलपीएस म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिकल्प खरेलले जानकारी दिएका छन् ।
सहभागी टोलीलाई २३ समूहमा विभाजन गरिनेछ । समूह चरणपछि, नकआउटका खेलहरु राउन्डअप ३२, १६, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ । फाइनल खेलको विजेता टोलीले नेदरल्यान्ड्समा आगामी सेप्टेम्बर २ देखि ६ तारिखसम्म आयोजना हुने स्ट्रिट विश्वकप फुटबलमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
छनोटका खेलहरु काठमाडौँको टेकुस्थित कुमा ननी, तबहाल, लगन, ओमबहाल र तेबहाल संकटामा हुनेछ ।
युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यले ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए थ्री वाइ थ्री स्ट्रिट फुटबल विश्वकप छनोट’ गरिन लागिएको आयोजकले जनाएको छ ।
नेपालले गतवर्ष चीनमा भएको थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबलमा पनि प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपालको तर्फबाट सरस्वती युथ क्लबले भाग लिएको थियो ।
