विराटचौक । केराबारी गाउँपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बेलबारी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै केराबारी गाउँपालिकाले फाइनलमा स्थान बनाएको हो ।
केराबारी गाउँपालिकाको जितमा दुबै गोल राम वाजीले गरे । राम नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ४ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत भोलि बिहिवारको दोस्रो सेमिफाइनल खेल इटहरी उपमहानगरपालिका र बेलका नगरपालिकाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
