घैटोफोरमा शिशिर तथा डन्डिबियोमा अछाम पहिलो नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित ’“प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
महोत्सव अन्तरगत डन्डिबियोमा टिम अछाम पहिलो, टिम दोलखा दोस्रो तथा थापाथली एकेडेमी तेस्रो भए ।
विजयी अछाम टिममा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा समावेश थिए । दोलखाको टिममा इन्द्र कुमार बस्नेत, कुमार विक र सुमन मोक्तान समावेश थिए ।
थापाथली टोलीमा आरभ श्रेष्ठ, निसान धिमाल र गौरव श्रेष्ठ समावेश थिए । डन्डिबियोमा १६ टोली समावेश थिए । यसै गरी, सट पुटमा सुरेश डङ्गोल पहिलो, शुभम् चाम्लिङ दोस्रो तथा तारा बहादुर रानाभाट तेस्रो भए ।
घैटोफोरमा शिशिर राना पहिलो, अनुभव चे खाइजु दोस्रो तथा तारा बहादुर राना भाट तेस्रो भए । बाघचालको उपाधि कृष्ण प्रसाद सिग्देल जितेका छन् । सो स्पर्धामा विपिन अमात्य दोस्रो तथा इन्द्र बस्नेत तेस्रो भए ।
६ खेल रहेको महोत्सव अन्तरगतका बाघचाल, टग अफ वार र बुद्धिचाल सकिएका छन् । टग अफ वारमा पहिलो भएको टिम जेन्जीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु, र जयस खनाल समावेश थिए । सो खेलमा टिम सगरमाथा दोस्रो तथा माउन्ट एभरेस्ट तेस्रो भयो । विजयी टोली तथा खेलाडीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले पुरस्कार वितरण गरे ।
नेपालको मौलिक बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दी यौँ देखि खेलिँदै आएको रणनीतिक खेल बाघचालमा २६ खेलाडीको सहभागिता थियो । ग्रामीण बस्तीदेखि मठमन्दिर, चौतारा र सार्वजनिक स्थलसम्म लोकप्रिय रहेको बाघचाल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावसँगै ओझेलमा पर्दै गएको छ ।
यही मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत बाघचाललाई समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
नेपालमा लोकप्रिय रहेको बुद्धिचालमा पाँचथरका प्रतिभाशाली खेलाडी रिसन थापा पहिलो हुँदा दोलखाका आशिष फुयाँल दोस्रो भए । सुमन मोक्तान तेस्रो तथा पुरुषोत्तम सिलवाल चौथो भए । राजेन्द्र प्रसाद श्रेष्ठ पाँचौँ भए । शैलेन्द्र न्यौपाने, मुहान नरसिंह श्रेष्ठ, सन्देश श्रेष्ठ, गणेश अवाले र सुरोज महर्जन शीर्ष १० मा अटाए । कार्यक्रम आयोजक नेपाल अल स्पोट्र्स हबका अध्यक्ष दिपेन राईको सभापतित्वमा भएको हो ।
