भक्तपुर । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको कार्यसमिति पूर्ण बैठकले २६औं खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप र ११ओैं महिला राष्ट्रिय च्याम्पियनसिप झापाको दमक स्थित होटल कामक्षमा आयोजना गर्ने निर्णय गरेको छ । 

यसअघि बैठकले ताेकेको स्थानलाई परिवर्तन गरि सोही मिति २०८३ जेष्ठ २९ गते देखि असार ४ गतेसम्म प्रतिस्पर्धा गर्न दुवै विधाका २४ जना खेलाडीको नाम निश्चित भइसकेको छ । राष्ट्रिय प्रतियोगितामा पुरुष तर्फ रिसोन थापा, अभीक शाह, कमल श्रेष्ठ, धिरेन राई, ज्वाला लिम्बु, मुहान नरसिंह श्रेष्ठ, शुश्रुत दाहाल, आशिष फूयाँल र पुरुषोत्तम चौलागाईं रहेका छन् । 

यसैगरी महिला तर्फ पूजा भण्डारी, कृतिसारा अधिकारी, बिनिता कपाली, प्रीया क्षेत्री, एञ्जल महर्जन, सुशिला गुरुङ,  नुमा सुब्बा, निहाना श्रेष्ठ, प्रविशा दुबेदि र प्रज्ञा  पन्तले नेपाल च्याम्पियनको लागि दावी प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय प्रतियोगितामा प्रथम देखि चौथो स्थान प्राप्त गर्ने र वर्तमान नेपाल विजेता सहित पाँच पाँच खेलाडी यही सेप्टेम्बर १० देखि २८ सम्म उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि छनौट हुने छन्। 
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आवास तथा खाना सँगै सरकारी दररेटमा यातायात खर्च सुविधाको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिला दुबै विधातर्फ विजेतालाई नगद रु. २५ हजार, उपविजेतालाई १५ हजार, तृतीय हुनेलाई १० हजार पुरस्कार तथा आकर्षक ट्रफि, तक्मा, प्रमाणपत्रको व्यवस्था गरिएको छ । बाकी बाह्रौंसम्मका खेलाडीहरुलाई जनही ५/५ हजार प्रदान गरिनेछ । वैठकले नेपाल बुद्धिचाल महासंघको नियमित वार्षिक साधारण सभा आगामी २०८३ असार २७ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ । 

नियमित साधारणसभा सम्पन्न गर्न महासंघले उपाध्यक्ष श्याम ब्यञ्जनकारको संयोजकत्वमा निरञ्जन प्रजापति र बालाराम पुनको तिन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । उपाध्यक्ष माधवप्रसाद प्रधानको संयोजकत्वमा धरमबहादुर लामा, चन्द्रमणि गैरे, प्रतिमा महत र करुणा काफ्लेको पाँच सदस्यीय साधारणसभा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

उपाध्यक्ष शिवजिप्रसाद कानुको संयोजकत्वमा राजु ताम्राकार र रमिला पोखरेलको तिन सदस्यीय प्रतिनिधि व्यवस्थापन समिति गठन गरेको छ ।
साधारणसभा सचिवालय व्यवस्थापन समितिको संयोजक धरमबहादुर लामा रहेको पाँच सदस्यीय समितिमा सुशील चौधरी, शुशीला गुरुङ, निता श्रेष्ठ सैंजु र करुणा काफ्ले रहेका छन् । 

नेपाल खेलकुद विकास ऐन २०७७ र नेपाल बुद्धिचाल महासंघको विधान विपरित कार्य गरेकोले वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष धनबहादुर बोगटी र कोषाध्यक्ष ताराबहादुर रानाभाट माथि सात दिने स्पष्टीकरणको पत्रचार गर्न पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *