बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगितामा सनिश्चरे फुटबल क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा कन्काई स्पोर्टिङ क्लब, झापालाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
खेलको ६१औँ मिनेटमा कृष्ण राईले गोल गर्दै कनकाईलाई सुरुआती अग्रता दिलाएका थिए । तर, शनिश्चरेका लागि प्रदिप बुढाथोकीले खेलको ८०औँ मिनेटमा बराबरी गोल फर्काए ।
टाइब्रेकरमा कनकाईका लागि आशिष लावती, आदित्य बानियाँ र सागर तिवारीले गोल गरे । अभिषेक लिम्बूको प्रहार शनिश्चरेका गोलरक्षक अनुप तामाङले रोकेका थिए । शनिश्चरेका लागि बादल तामाङ, विशाल तामाङ, आयुश राई, सौरभ लिम्बू र देवेन्द्र तामाङले गोल गरे ।
खेलमको म्यान अफ द म्याच शनिश्चरेका गोलरक्षक अनुप तामाङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
च्यालेन्ज कपमा मंगलबार तेस्रो क्वार्टरफाइनल खेल बेलबारी एफसी, मोरङले र बगान युथ क्लब, झापाका बीच हुनेछ । झापा र मोरङका गरी ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
