काठमाडौं । पीएल सिंह मेमोरियल टी२० कपमा पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाले आ–आफ्नो खेलमा शानदार जित दर्ता गरेका छन्।
प्रतियोगिता अन्तर्गत सम्पन्न रोमाञ्चक प्रतिष्पर्धाहरूमा पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गर्यो। प्रतियोगिताको छैटौँ खेलमा काठमाडौँले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।
वर्षा वा अन्य प्राविधिक कारणले १० ओभरमा छोट्याइएको उक्त खेलमा पहिले ब्याटिङ गरेको पोखरा महानगरपालिकाले २ विकेट गुमाएर १०७ रनको बलियो योगफल खडा गर्यो।
पोखराका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ५० रनको अविजित अर्धशतकीय इनिङ खेले। उनलाई सन्दीप खत्री क्षेत्रीले १५ बलमा ३५ रन बनाउँदै बलियो साथ दिए। काठमाडौँका बिशाल भुयाँलले २ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। १०८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।
काठमाडौँका लागि कृष कार्कीले २५ र उत्तम थापा मगरले अविजित १८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। पोखराका अपराजित पौडेल, कृष्ण पौडेल र बिपिन खत्रीले समान २–२ विकेट लिँदै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पारे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ चुनिए।
प्रतियोगिताको सातौँ खेलमा विराटनगर महानगरपालिकाले टस जितेर ललितपुर महानगरपालिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। ललितपुरका लागि रोशन बीकेले २५ बलमा अविजित ४२ रन र आदिल खानले २३ रन बनाए। विराटनगरका कृष शर्मा र प्रतिक पोखरेलले समान २–२ विकेट लिए। १५२ रनको लक्ष्य पछ्याएको विराटनगर महानगरपालिकाले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै मात्र १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।
विराटनगरको जितमा नायक बनेका सुजन थापलियाले मात्र ३७ बलमा ८१ रनको विष्फोटक इनिङ खेले। त्यस्तै रोबिन मण्डलले ३९ बलमा ४४ रनको योगदान दिए। ललितपुरका तिलक राज भण्डारी र बिबेक राना मगरले १–१ विकेट लिए। १९ बल बाँकी छँदै ८ विकेटको सहज जित निकालेको विराटनगरका सुजन थापलिया खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
