इटहरी । सुनसरीको इटहरीमा सोमबारदेखि कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा फेयर फुटबल क्लब, सुनसरीले काकरभिट्टा महिला फुटबल क्लब, झापालाई ३–० को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

फेयरलाई जित दिलाउन दिपा राईले दुई तथा प्रजिता राईले एक गोल गरीन् । खेलमा दुई गोल गरेकी फेयर एफसीकी दिपा राई प्लेयर अफ द म्याच बनिन् । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।

त्यसैगरी दोस्रो खेलमा सृजनशील महिला फुटबल क्लब, तेह्रथुमले बेलबारी फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलको प्लेयर अफ द म्याच सृजनशीलकी गोलरक्षक करुणा बुढाथोकी भइन् । उनले पनि नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिता अन्तर्गत असार १६ गते मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । जसमा धनकुटा जिल्ला फुटबल संघ, धनकुटाले आत्मा पबित्र एससी, इलामको सामना गर्नेछ भने अर्को खेलमा गाईघाट फुटबल क्लब, उदयपुरले इटहरी फुटबल क्लब, सुनसरीको सामना गर्नेछ ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *