काठमाडौं । पाँचौं काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको उपाधि कृष्ण राई र अन्जु बुढाले जितेका छन् । शनिबार सम्पन्न ५ किमि दौडमा कृष्णले पुरुष र अन्जुले महिलातर्फ उपाधि जितेका हुन् ।
काठमाडौं वडा नं.४ द्वारा आयोजित दौड प्रतियोगितामा कृष्णले १९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् । रमेश सिंह २० मिनेट ३२ सेकेन्डसाथ दोस्रो तथा रावल तिनवा २० मिनेट ३६ सेकेन्डसहित तेस्रोमा रहे ।
अन्जुले २१ मिनेटमा ५ किमि पूरा गर्दै महिलातर्फ पहिलो स्थान हासिल गरेकी हुन्। गोमा राई २१ मिनेट २७ सेकेन्डसहित दोस्रो भइन् भने जानकी श्रेष्ठले ३८ मिनेट ५ सेकेन्डसाथ तेस्रो स्थान हासिल गरिन् ।
तीन किमि छात्रतर्फ धुम्रवराह माविका सुमन तामाङ (११ मिनेट २० सेकेन्ड) पहिलो, बाँसबारी माविका राजेश शाही (११ मिनेट २४ सेकेन्ड) दोस्रो र सलमान शेख (११ मिनेट २८ सेकेन्ड) तेस्रो भए । छात्रातर्फ न्युटन स्कुलका अनिता बुढा (१४ मिनेट ४२ सेकेन्ड) पहिलो, बाँसबारी माविका महिमा राई (१५ मिनेट ५ सेकेन्ड) दोस्रो र स्मृति महतरा (१५ मिनेट १३ सेकेन्ड) तेस्रोमा रहे ।
त्यस्तै, ३ किमि भेट्रान (५५ वर्षमाथि) पुरुषतर्फ ६१ वर्षीय रविनजंग थापा (१४ मिनेट ६ सेकेन्ड) पहिलो, निरज पौडेल (१५ मिनेट ९ सेकेन्ड) दोस्रो र मिलन ढकाल (१५ मिनेट ३२ सेकेन्ड) तेस्रो भए । महिलातर्फ ५९ वर्षीया शान्ता गौतम (२० मिनेट ५७ सेकेन्ड), ६५ वर्षीया तिलादेवी खनाल (२१ मिनेट १० सेकेन्ड) र ६७ वर्षीया लक्ष्मी लम्साल २२ मिनेट ९ सेकेन्ड) शीर्ष तीनमा रहे ।
कुल एक लाख आठ हजार रुपिया पुरस्कारको प्रतियोगितामा कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनका अनुसार प्रतियोगितामा खुला, विद्यार्थी र भेट्रनका ६ स्पर्धामा चार सय बढी धावक सहभागि थिए । वडाध्यक्ष महर्जनसहित अथितिहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
५ किमि दौड विशालनगरस्थित विशाल मिलन केन्द्रबाट सुरु भई चण्डौल, फिनल्यान्ड दूतवास, खहरे, धुमवाराही चौक, शंख पार्क, लामटंगिन मार्ग, चुनदेवी, पञ्चकन्या टुँडालदेवी हुँदै पुनः विशाल मिलन केन्द्र पुगेर टुंगिएको थियो । ३ किमि दौड पनि विशाल मिलन केन्द्रबाटै प्रारम्भ भएर टुँडालदेवी, कालिबुढी चौक, पञ्चकन्या, चुनदेवी, गणेश वस्ती, अरुणा लामा मार्ग, ढुंगेधारा हुँदै विशाल मिलन केन्द्र फर्केर सकिएको थियो ।
