कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा कन्स्टिलेसनले स्किब्सलाई २१–१८ ले पराजित गर्यो । यो प्रतियोगितामा कन्स्टिलेसनले पहिलोपटक उपाधि जितेको हो ।
जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ग्रिनफिल्डलाई १७–१६ को झीनोअन्तरले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–११ ले पाखा लगाउदै उपाधि रक्षा गर्यो ।
सिनियर ब्वाइजमा कन्स्टिलेसनका रिडम नेपाल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका निश्चल घर्ती मगर र सिनियर गल्र्समा भ्याली पब्लिककी सानुमाया तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई काठमाडौं प्याब्सनका सचिव कृष्ण भण्डारी, प्याब्सनका पूर्व केन्द्रीय सदस्य हरिदास श्रेष्ठ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ गरी ४८ टिम सहभागी थिए ।
